गृहमन्त्रीको निर्देशनपछि २२१ जना सुरक्षाकर्मी फिर्ता

0
41

काठमाडौं, १४ पुस / नियम विपरीत निजी सुरक्षामा खटिएका २२१ जना प्रहरी फिर्ता भएका छन् । नेपाल प्रहरीका प्रवक्ता डीआइजी टेकप्रसाद राईका अनुसार कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता भएका हुन् । बिहीबारसम्म १०३ जना नेपाल प्रहरीका कर्मचारी फिता भए । जसमा ३१ जना चालक छन् । प्रहरीको सवारी चालकलाई गृह मन्त्रालयका कर्मचारीले नियम विपरीत व्यक्तिगत सवारी चालकको रूपमा प्रयोग गरिरहेका थिए ।
त्यस्तै नियम विपरीत भीभीआइपी सुरक्षामा खटिएका ११८ जना सशस्त्र प्रहरीका कर्मचारी फिर्ता भएका छन् । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता पुरुषोत्तम थापाका अनुसार ११८ जना सशस्त्र प्रहरी फिर्ता भएका हुन् । उनले भने, ’भीभीआइपीको सुरक्षामा सशस्त्र प्रहरी खटाइने नियमावलीमा उल्लेख छ । सोही अनुसार खटिएका सशस्त्र प्रहरी फिर्ता भएका हुन् ।’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार यो संख्या उपत्यकाको मात्रै हो । केही दिनमै देशभरि नियमविपरीत यसरी खटिएका सबै प्रहरी फिर्ता हुनेछन् ।
प्रहरी प्रधान कार्यालयबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रूपमा खटिएका सुरक्षा अधिकारीहरू समेत फिर्ता भएका छन् । गृहमन्त्री रवि लामिछानेले नियम मिचेर व्यक्तिगत रूपमा सुरक्षाकर्मी राखिएको भए २४ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका थिए । साभार : अन्नपूर्णपोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here