34.6 C
Birgunj
Homeसमाचारस्थानियचिनियाँ नाका नखुल्दा बिकेनन् चौंरी

चिनियाँ नाका नखुल्दा बिकेनन् चौंरी

- Advertisement -spot_img

रोना महामारी सुरू भएयता चिनियाँले सहयोग सामग्री पठाए तर न नाका खोल्छन् न त नेपाली बस्तीबाट केही लैजान्छन्

ताप्लेजुङ — आफूले पालेका चौपायाले राम्रा बाछाबाछी जन्माउँदा किसान औधि खुसी हुनुपर्ने हो । अहिले ठीकविपरीत छ । चौंरीपालक किसान यतिबेला बाछाबाछी नजन्मिदिए हुन्थ्यो भन्ने कामना मात्रै गरिरहेका छैनन्, विगतमै जस्तो जन्माउलान् भनेर चिन्ता पनि गरिरहेका छन् । त्यसका लागि सकेसम्म भाले र पोथीको बथान छुट्टाछुट्टै बनाएका छन् । चौंरीको बिक्री ठप्प भएपछि यस्ता दिन आएको याम्फुदिनका दाबा भोटे बताउँछन् । चौंरी बिक्री नहुनुमा चीनसँगको सिमाना ठप्प हुनु मुख्य कारण हो ।

ओलाङचुङगोलाको टिप्ताला भञ्ज्याङ नाका तीन वर्षदेखि ठप्प छ । यो नाका बन्द भएपछि याक, नाक, बाछाबाछी, तोलेलगायतका चौंरीका सबै प्रजातिको बिक्री ठप्प छ । किनबेच ठप्प हुँदा र बाछाबाछीको संख्या बढ्दै जाँदा चरनको अभाव हुन थालेको छ । चौंरीको मूल्य पनि लगातार घटिरहेको छ । ‘नाका बन्द हुनु अघिसम्म एउटा वयस्क चौंरीको मूल्य ९० हजारदेखि १ लाख १० हजारसम्म थियो,’ दावाले भने, ‘अहिले २५ देखि ३० हजारमा पनि बिक्री हुन मुस्किल छ ।’

बीउ हुनेबाहेकको चौंरी कसैले खरिद गर्नै नमान्ने उनले बताए । संख्या धेरै भएकै कारण यो वर्ष हिउँ पर्दा पनि धेरै चौंरी बथान औलतिर झारिएन । हिउँमा परेर मिक्वाखोला–५ पापुङका बाबुछोरा तीन दिनसम्म बेपत्ता भए । ‘मैले पनि वयस्क जति माथि खर्कतिरै छोडिदिएँ,’ दावाले भने, ‘हिउँमा टिक्नै नसक्ने ४५/५० वटा माउ मात्रै लिएर औल झरेको छु ।’ माउ भने सदरमुकाम नजिकै देउरालीसम्म झारेको उनले सुनाए । यो बेला सुब्बाहरूले खर्चरी र सामुदायिक वनले चरनको भाडादर पनि बढाएका छन् ।

दावाले ८ लाख रुपैयाँ खर्चिए । चरनका लागि एउटा सामुदायिक वनलाई ५० हजारसम्म शुल्क तिर्नु परेको उनले बताए । प्रत्येक वर्ष फागुन–चैतमा ब्याउने चौंरीले दावाको गोठमा वर्षमा ६० देखि ९० वटासम्म बाछाबाछी थपिने गरेको थियो । यो वर्ष पनि यसरी नै थपिए पाल्ने उपाय नभएको उनी बताउँछन् । फक्ताङलुङ–७ ओलाङचुङगोलाका गोम्वो शेर्पाका अनुसार चौंरी चीनमा मात्रै बिक्री हुने गरेको छ । चीन र भारत दुवै देशसँग सिमाना जोडिएको भए पनि भारतमा बिक्री हुँदैन । भारततर्फ सिक्किमका गोठालाले आफ्ना चौंरी पनि चीनमा बिक्री गर्ने गरेका थिए ।

चीनको एक रुपैयाँको नेपाली १६ रुपैयाँ हुने भएकाले राम्रो मूल्यमा बिक्री हुने गरेको गोम्बो बताउँछन् । फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङका अनुसार चीनको बुहानमा कोरोना संक्रमण देखिएपछि बन्द भएको टिप्ताला भञ्ज्याङ नाका अहिलेसम्म खुलेको छैन । ‘उता (चीन) को सरकारले खाद्यान्न, औषधिलगायतका सामग्री तीन/चार पटक दियो,’ छेतेनले भने, ‘तर, हाम्रो वस्तु पनि लगिदेऊ न भन्दा चाहिँ मानेका छैनन् ।’ चीनले सीमावर्ती ओलाङचुङगोला, याङमा र घुन्साका बासिन्दाका लागि एक वर्षलाई पुग्नेगरी चामल, दाल, पिठोलगायतका सामग्री दिएको छ ।

ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार वस्तुभाउलाई खुवाउने नुन बाहेकको सबै सामग्री दिएको हो । सीमामा ल्याएर झारिएको सहयोग सामग्री ओलाङचुङगोलाबाट सीमा प्रहरी चौकीका सुरक्षाकर्मीसमेत गएर बस्तीमा ल्याएको वडाध्यक्ष बताउँछन् । चौंरी, घिउ, गलैंचा लैजान गरेको प्रस्ताव भने उनीहरूले अस्वीकार गरेका हुन् ।

एक जनप्रतिनिधिले भने, ‘हामी पनि तिमीहरूले जस्तै सीमामा ल्याएर छोड्छौं, सामान लैजाउ पछि पैसा दिने व्यवस्था मिलाइदेऊ भन्दा पनि मान्दैनन् ।’ पहिला बुढो हुँदै गएको याक, चौंरी बिक्री गर्ने र सानो हुर्काउने प्रचलन भए पनि तीन वर्षदेखि सबै पाल्नुपर्दा किसानलाई समस्या भएको छेतेन बताउँछन् । यसअघिसम्म वस्तुलाई चीनबाट ल्याएको नुन खुवाउने गरिएको थियो । नाका बन्दपछि पारिबाट नुन ल्याउन सकिएको छैन । चीनको तुलनामा नेपालको नुन चर्को हुने भएकाले स्थानीयले उतैको नुन रोज्ने गरेका थिए । चौंरी नै बिक्री नभए पछि नुन किन्न पनि समस्या भएको उनीहरू बताउँछन् । हिमाली क्षेत्रमा प्रत्येक घरमा कम्तीमा दुई/चार माउ चौंरी र याक पाल्ने गरेका छन । गोठ पाल्नेहरू एक जनासँग डेढ दुई सयको हाराहारीमा हुने गरेको छ । तीन वर्षयता सबैजसो गोठमा दोब्बर बढी चौंरी भएका छन् । ईकान्तिपुर

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here