काठमाडौं,०९ फागुन । रौतहट जिल्लामा दुई समुदायबीच भएको झडपपछि जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश यथावत् छ । शनिबार (फागुन ९) दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले गौर नगरपालिका क्षेत्रमा कर्फ्यु लागू गरेको हो ।
कर्फ्यु आदेशपछि केही स्थानमा छिटपुट आगजनीका घटना भए पनि हाल अवस्था नियन्त्रणमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले बताएका छन्। ‘कर्फ्यु छ, तर अहिले स्थिति सामान्य छ,’ उनले भने, ‘कर्फ्यु लगाएपछि एकछिन अलि भित्रभित्रतिर केही घटना भएको थियो । अहिले त्यस्तो छैन ।’
झडपका कारण गौर क्षेत्र तनावग्रस्त बनेको थियो। घटनामा केही व्यक्ति घाइते भएका छन् भने केही सवारीसाधनमा आगजनी भएको प्रहरीले जनाएको छ। उच्छृंखल गतिविधिमा संलग्न रहेको आरोपमा हालसम्म २० जनालाई पक्राउ गरिएको प्रशासनले जनाएको छ।
यसैबीच, गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ। पछिल्लो समय रौतहट, दाङ लगायत जिल्लामा भएका धार्मिक तथा राजनीतिक घटनाक्रमका सन्दर्भमा बैठक बसेको हो।
समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारी सहभागी छन् ।
मधेश–तराई क्षेत्रमा देखिएका जातीय, धार्मिक तथा निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतीका विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ। आवश्यक निर्णयका लागि बैठकमा छलफल जारी रहेको छ।

