31.6 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

प्रतिनिधिसभा निर्वाचनका लागि जसपा नेपालले पर्साका १२ उम्मेदवारको सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवारका लागि १२ जनाको नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको जसपा नेपाल पर्सा कार्यकारिणी समितिको बैठकले चारवटै निर्वाचन क्षेत्रका क्षेत्रीय समन्वय समितिबाट प्राप्त नामहरूलाई केन्द्रिय कार्यसमितिमा सिफारिस गर्ने निर्णय गरेको हो । जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवका अनुसार, क्षेत्रीय समितिबाट आएका नामहरूलाई कुनै हेरफेर नगरी केन्द्रमा पठाइएको हो ।

सिफारिसअनुसार, पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट पार्टीका महासचिव तथा पूर्वमुख्यमन्त्री लालबाबु राउत, मधेस प्रदेश अध्यक्ष बालकिशोर यादव र जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी, पर्सा क्षेत्र नम्बर २ बाट यसअघि २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएर पराजित भएका सुरेन्द्र प्रसाद कुर्मी, उद्योगपति अशोक कुमार टेमानी, पूर्व वडाध्यक्ष सन्तोष तिवारी, हालका वडाध्यक्ष आशुतोष चर्तुवेदी, कामेश पण्डित र वीरेन्द्र प्रसाद यादवको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष यादवले जानकारी दिए ।

पर्सा क्षेत्र नम्बर ३ बाट नगेन्द्र प्रसाद यादव र भरत गिरीको नाम सिफारिस गरिएको छ भने क्षेत्र नम्बर ४ बाट डा. कृपासिन्धु प्रसाद चौधरीको नाम केन्द्रिय कार्यसमितिमा सिफारिस गरिएको छ । डा. चौधरी केही दिनअघि मात्रै नेपाली कांग्रेस परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन् । उनी यसअघि कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका थिए ।

तर, जसपा नेपाल पर्साले केन्द्रमा सिफारिस गरेका नामहरूमा हालै अशोक राई नेतृत्वको जसपा परित्याग गरी जसपा नेपालमै फर्किएका पूर्वमन्त्री तथा पर्सा – १ का निवर्तमान सांसद प्रदीप यादवको नाम समावेश गरिएको छैन । यादव २०७४ र २०७९ को निर्वाचनमा पर्सा – १ बाट लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै, हालै जसपा नेपालसँग पार्टी एकता गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कुनै पनि नेताको नाम पनि पर्साबाट सिफारिस सूचीमा समावेश गरिएको छैन ।

यस विषयमा प्रतिक्रिया दिँदै जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवले पार्टीमा हालै प्रवेश गरेका नेताहरू र एकता गरेका अन्य दलका विषयमा केन्द्रिय कार्यसमितिबाट जिल्लालाई औपचारिक वा आधिकारिक जानकारी नआएको स्पष्ट पारे । ‘केन्द्रबाट अहिलेसम्म कुनै आधिकारिक सर्कुलर नआएकाले पहिले नै क्षेत्रीय समितिले सिफारिस गरेका नामहरू मात्रै केन्द्रमा पठाइएको हो,’ उनले भने ।

उनका अनुसार, केन्द्रबाट औपचारिक परिपत्र आएमा सिफारिस सूचीमा फेरबदल हुन सक्ने सम्भावना पनि छ । यता, पूर्वमन्त्री प्रदीप यादवले भने उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग गरिएको पार्टी एकताको आधिकारिक परिपत्र जिल्ला तहमा पुगेपछि हाल सिफारिस भएका नामहरूमा व्यापक परिवर्तन हुने दाबी गरेका छन् ।

पर्सा जिल्लामा जसपा नेपालको उम्मेदवार सिफारिसले आगामी निर्वाचनलाई थप चासोपूर्ण बनाएको छ भने अन्तिम उम्मेदवार चयन केन्द्रिय कार्यसमितिको निर्णयपछि मात्रै टुंगो लाग्ने देखिएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here