विराटनगर,१५ पुस । मोरङमा एम्बुलेन्स प्रयोग गरी गाँजा ओसार पसार गरेको पाइएको छ । प्रहरीले गाँजा कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ ।
आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गरी एम्बुलेन्समा लोड गरिएको गाँजा नियन्त्रणमा लिएको हो । प्रहरीले दुई जनालाई पनि पक्राउ गरेको छ ।
धनकुटाबाट मोरङतर्फ आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले केराबारी–५ लाफा टोलमा रोक्न खोजेको थियो । प्रहरीलाई देख्नासाथ एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समा सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू भागेका थिए ।
त्यसपछि प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको थियो ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार एम्बुलेन्समा सवार दुवै पक्राउ परेका छन् । एम्बुलेन्समा लोड गरिएको ४८० किलो हाराहारी गाँजा पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले शनिबार जहदा गाउँपालिका–२ तारिगामाबाट गोली चलाएर ३ सय ३० किलो गाँजासहित भारीय नागरिक २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गरेको थियो ।

