36.9 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

बाघ संरक्षणमा प्रविधिको प्रयोग: क्यामेरा ट्र्यापबाट गणना

चितवन,०१ पुष । मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघ गणना आजदेखि सुरु भएको छ । चितवनको सौराहामा आयोजित औपचारिक कार्यक्रम गरी बाघ गणना सुरु गर्न थालिएको हो ।

वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भूसंरक्षण विभागको समन्वयमा गरिने बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालको सहयोग रहेको छ । त्यस्तै गणनामा नेपाली सेना, मध्यवर्ती तथा सामुदायिक वन उपभोक्ता समितिलगायत सहयोगीका रुपमा परिचालित हुने गरेका छन् ।

जम्मा दुई ५० जना प्राविधिक कर्मचारी देशभर खटिएर साढे दुईदेखि तीन महिनाभित्र गणना सम्पन्न गर्ने योजना रहेको निकुञ्ज विभागले जनाएको छ । गणनामा एक हजार १०० अत्याधुनिक क्यामेराको प्रयोग गरिने र बाघको फोटो सङ्कलन गरेर विश्लेषण गरी सङ्ख्या एकिन गरिने विभागका महानिर्देशक बुद्धिसागर पौडेलले जानकारी दिए ।

निकुञ्ज विभागका अनुसार गणनामा जनशक्ति परिचालन, मेमोरी कार्ड, टेन्ट, सिल्पिङ ब्यागलगायत लजिस्टिक सामानका लागि करिब तीन करोड खर्च लाग्ने बताइएको छ । त्यसैगरी, क्यामेरा भने यसअघिकै खरिद गरिएका सबै एक हजार १०० क्यामेरा प्रयोग गर्न लागिएको हो । जुन प्रतिक्यामेराको मूल्य करिब ३५ हजार रहेको छ ।

नेपालले स्वचालित क्यामेरा ट्रयापबाट प्रणालीबद्ध रूपमा बाघ गणना गर्न थालेको सन् २००९ देखि हो । उक्त गणनाअनुसार नेपालमा एक सय २१ वटा बाघ रहेका थिए । त्यसअघि बाघका खुट्टाका छाप तथा पदमार्गको अनुमानका आधारमा गणना गरिन्थ्यो र त्यो पनि राष्ट्रियस्तरमा नभई निकुञ्जमा सीमित हुन्थ्यो ।

सन् २००९ यता हरेक चार वर्षमा बाघको सर्वेक्षण हुँदै आएको छ । बाघ संरक्षण कार्ययोजनामा उल्लेख भएअनुसार सन् २०१३, २०१८ र २०२२ मा गणना सम्पन्न भइसकेको छ । अहिले सन् २०२६ का लागि गणना हुनलागेको हो । बाघको सर्वेक्षण खासगरी हिउँदको समयमा गरिन्छ । किनभने यो चिसो समयमा बाघ सुक्खा ठाउँमा र झाडी नभएको खुला क्षेत्रमा बढी हिँडडुल गर्ने भएकाले क्यामेरामा ट्रयाप गर्न सहज हुने निकुञ्ज विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिए । उनका अनुसार गणनाका लागि सो क्षेत्रमा दुई वर्गकिलोमिटर क्षेत्रफलमा स्वचालित क्यामेरा राखिन्छ र उक्त क्यामेराले २४सै घण्टा जुनसुकै वस्तु चलायमान हुँदा स्वाचालित रूपमा तस्बिर लिएर रेकर्ड गर्छ ।

‘गणनाका खटिने टोलीलाई क्यामेरा जडान गर्न र निकाल्न एक साताको समय लाग्छ भने ट्रयापिङका लागि कम्तीमा १५ दिन राखिन्छ । यही पुस १ र २ गते औपचारिक उद्घाट्न तथा ओरियन्टेसन कार्यक्रम रहेको छ । यही पुस ३ गतेदेखि फिल्डमा गएर क्यामेरा ओछ्याउने काम सुरु हुन्छ’, वरिष्ठ इकोलोजिष्ट आचार्यले भने ।

क्यामेरा ओछ्याउन सहजताका लागि बाघ पाइने क्षेत्रलाई सिस्टमेटिक बनाउनलाई ब्लकमा विभाजन गरिएको छ । चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी गरी मुख्य तीन ब्लकमा विभाजन गरिएको छ । हरेक ब्लकलाई फेरि क्याम्प–क्याम्पमा बाँडेर प्राविधिक कर्मचारी खटाएर क्यामेरा राख्ने काम गरिन्छ । एउटा पाटे बाघको पाटा अर्कोसँग नमिल्ने र फोटोमा कुनै द्विविधा नहुने भएकाले यस प्रविधिको गणनालाई वैज्ञानिक मानिन्छ ।

क्यामेराबाट तथ्याङ्क आइसकेपछि निकुञ्ज विभागमै विश्लेषण र जम्मा गरी सङ्ख्या एकिन गरिन्छ । अन्तिम परिणाम आगामी जुलाई २९ अर्थात अन्तर्राष्ट्रिय बाघ दिवसका दिनसम्म प्रतिवेदन सार्वजनिक गर्ने भन्ने योजना रहेको वरिष्ठ इकोलोजिष्ट आचार्यले बताए ।

निकुञ्ज विभागले बाघ गणना सम्पन्न भएपछि गैँडाको पनि गणना गर्ने तयारी रहेको जनाएको छ । त्यस्तै सम्बन्धित निकुञ्जले बाघ र गैँडाको जस्तो नियमित र राष्ट्रियस्तरको नभए पनि चितवन र बर्दियामा घडियाल गोही, पर्सा र चितवनमा गौरी गाई र कोशीमा अर्नाको गणना गर्ने गरेका छन् ।

पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । यी मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । नेपालबाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यान्मा, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटेबाघ पाइन्छन् ।

उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । हाल नेपालमा बाघको सङ्ख्या बढेर त्यसको झण्डै तेब्बर पुगेको छ ।

पछिल्लो पटक सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ ।

नेपालले २०६७ देखि बाघ दिवस मनाउँदै हरेक चार वर्षमा राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ ।

नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा एक सय नौ, सन् २००५ मा एक सय २६, सन् २००९ मा एक सय २१, सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा बाघको सङ्ख्या बढेर दुई सय ३५ पुगेको थियो । (रासस)

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here