27.5 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

विवाहपञ्चमीको आखिरी विधि आज: जनकपुरमा भक्तिभावले मनाइँदै रामकलेवा

जनकपुरधाम,१० मंसिर । सप्ताहव्यापी सीता–राम विवाहपञ्चमी महोत्सवको सातौँ तथा अन्तिम दिन आज रामकलेवा विधिवत रूपमा मनाइँदै छ। जनकपुरधाममा हजारौं भक्तजन, साधुसन्त र तीर्थयात्रीको उपस्थितिमा चलिरहेको यो महोत्सव आज जन्तीको रूपमा आएका साधुसन्तलाई ५६ व्यञ्जनको मिष्ठान्न भोजन गराई बिदाइ गर्ने परम्परागत संस्कारसँगै सम्पन्न हुँदैछ।

रामकलेवा विवाहपञ्चमी महोत्सवको महत्वपूर्ण तथा अन्तिम अनुष्ठान मानिन्छ। जनकपुरको प्राचीन परम्परा अनुसार भगवान रामको जन्ती बनेर आएका साधुसन्तलाई राजसी सत्कारसहित ५६ प्रकारका व्यञ्जन खुवाइन्छ र दान–दक्षिणा दिएर सम्मानपूर्वक बिदाइ गरिन्छ। यसै प्रक्रियाले विवाहपञ्चमीको सम्पूर्ण विधि पूरा भएको मानिन्छ।

मंगलबार साँझ जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा राम र सीताको वैवाहिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो। रातभर चलेको वैवाहिक काजमा बालबालिकालाई प्रतिकात्मक रूपमा राम, लक्ष्मण, भरत र शत्रुधनको रूपमा प्रस्तुत गरिएको थियो। आज साधुसन्तलाई दानदक्षिणासहित बिदाइ गरेपछि महोत्सव औपचारिक रूपमा समाप्त हुनेछ।

मंसिर ४ गतेदेखि सुरु भएको विवाहपञ्चमी महोत्सव सात दिनसम्म विविध धार्मिक कार्यक्रमसँगै अत्यन्तै आकर्षक रूपमा मनाइएको थियो। पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौ दिन मटकोर तथा छैटौं दिन मुख्य विवाहपञ्चमी उत्सव सम्पन्न गरियो।

त्रेता युगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान राम र सीताको दिव्य विवाह भएको सम्झनामा हरेक वर्ष जनकपुरधाममा सीता–राम विवाहपञ्चमी महोत्सव भव्य, सांस्कृतिक र धार्मिक शोभायमान उत्सवका साथ मनाइने परम्परा छ। भक्तजनहरूले यस महोत्सवलाई जनकपुरधामको सांस्कृतिक पहिचान र धार्मिक गौरवको केन्द्रबिन्दुका रूपमा सम्मान गर्दै आएका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here