28.5 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

विवाहपञ्चमी : जनकपुरमा राम–सीताको पौराणिक वैवाहिक उत्सव आज धुमधामसँग

जनकपुरधाम,०९ मंसिर । देशभर आज त्रेतायुगमा सम्पन्न दिव्य राम–सीता विवाहको स्मरणमा विवाहपञ्चमी पर्व भव्य रूपमा मनाइँदैछ। मार्गशीर्ष शुक्ल पञ्चमीको दिन भगवान् राम र माता सीताको पवित्र वैवाहिक मिलन भएको विश्वासका साथ श्रद्धालुहरूले राम–सीताको विशेष पूजा–अर्चना, भजन–कीर्तन र विभिन्न धार्मिक कार्यक्रम गरिरहेका छन्।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज राम–सीताको वैवाहिक महोत्सव विशेष विधि र भव्यताका साथ सम्पन्न हुँदैछ। गोस्वामी तुलसीदासद्वारा वर्णित पौराणिक प्रसङ्गलाई जीवन्त रूप दिँदै मिथिलावासीले यो पर्वलाई वर्षकै विशेष धार्मिक उत्सवका रूपमा मनाउँछन्।

त्रेतायुगमा राजा जनकले सीताको स्वयंवरका लागि राखिएको शिव धनुष रामले भाँचेर पवित्र मिलनको मार्ग खोलेका थिए। यही दिन सीता–रामको विवाह सम्पन्न भएको धार्मिक विश्वास छ। रामायणका अनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजित स्वयंवरमा ५६ कोटी देवताको अदृश्य रूपमा उपस्थिति रहेको मानिन्छ। सीतालाई आफ्नै छोरी–बहिनीका रूपमा सम्मान गर्ने मिथिलावासीले जन्तीको स्वागतदेखि विवाहसम्मको हरेक क्षण भक्तिभावसहित मनाउने परम्परा आज पनि उत्तिकै जीवित छ।

महोत्सव अन्तर्गत मिथिलाको परम्परागत संस्कार—मटकोर, तिलकोत्सव, स्वयंवर विधि र वैवाहिक संस्कार—अनुशासनसहित पूरा गरिन्छ। राम मन्दिरबाट बाजागाजा, झाँकी र डोलासहित भगवान् रामको प्रतिमा रङ्गभूमिमा पुर्‍याइन्छ भने जानकी मन्दिरबाट माता सीतालाई विशेषरूपले सजाएर ल्याइन्छ। रङ्गभूमिमा स्वयंवर तथा वैवाहिक विधि सम्पन्न भएपछि दुबैलाई जनकपुरस्थित जानकी मन्दिरको मूल गर्भगृहमा प्रतिष्ठापूर्वक लगिने परम्परा छ।

यस अवसरमा निस्किने डोला शोभायात्रा अत्यन्तै आकर्षक देखिन्छ। जनकपुरमात्र नभई विभिन्न प्रदेश र भारत–नेपाल सीमा क्षेत्रमा रहेका लाखौँ भक्तजन आजको भव्य डोला यात्रामा सहभागी हुन्छन्। वर–बधुपक्षबीचको रमाइलो ठट्टादेखि सीता–रामको प्रतीकात्मक झाँकीसम्मले रङ्गभूमि क्षेत्र आज पूरै आध्यात्मिक उत्सवले भरिएको छ।

पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव पछिल्ला दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित आयोजना हुँदै आएको छ। भक्तजन बिहानैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजा–पाठ, सत्त्सङ्ग, कीर्तन, रामलीला र प्रवचनमा सहभागी हुन्छन्। देवताको मानवीयकरणसँग जोडिएको यस महोत्सवमा श्रद्धापूर्वक सहभागी हुनेहरूले मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here