काठमाडौं,२५ असार । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलले शिष्टाचार भेट गरेकी छन्। उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।
भेटका क्रममा उपराष्ट्रपति यादवले नेपाल र फ्रान्सबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, आपसी सम्मान र सहयोगको चर्चा गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य अझ विस्तार हुँदै जाने विश्वास व्यक्त गरे। उनले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक विश्वास, सम्मान र सहयोगमा आधारित सम्बन्ध निरन्तर रूपमा अघि बढिरहेको उल्लेख गरे। उपराष्ट्रपति यादवले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यहरू ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’ ले नेपालको राजनीतिक आन्दोलनलाई समेत प्रेरणा प्रदान गर्दै आएको बताए। उनले यी मूल्यहरूले लोकतान्त्रिक अभ्यास र सामाजिक न्यायका क्षेत्रमा महत्वपूर्ण प्रभाव पारेको धारणा राखे।
भेटका क्रममा उपराष्ट्रपतिले फ्रान्सले युरोपेली संघ (इयु) मार्फत नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले नेपाल र फ्रान्सबीचको सम्बन्ध आगामी दिनमा अझ सुदृढ, फराकिलो र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। यस अवसरमा उपराष्ट्रपति यादवले फ्रान्सको आसन्न राष्ट्रिय दिवसको अवसर पारेर राजदूत कोर्टेभलमार्फत फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ तथा फ्रान्सेली जनताको सुख, शान्ति र समृद्धिको कामना समेत व्यक्त गरे। भेटका क्रममा फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलले पनि आफ्नो कार्यकालमा नेपाल र फ्रान्सबीचको सम्बन्धलाई थप मजबुत बनाउने दिशामा निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले दुई देशबीच रहेको मित्रवत् सम्बन्धलाई अझ गहिरो बनाउँदै आपसी सहयोग र सहकार्यका नयाँ सम्भावनाहरू अघि बढाउने बताएकी थिइन्।
नेपाल र फ्रान्सबीच कूटनीतिक, आर्थिक, सांस्कृतिक तथा विकास सहकार्यका क्षेत्रमा लामो समयदेखि सम्बन्ध रहँदै आएको छ। पछिल्लो भेटले दुई देशबीचको सम्बन्धलाई थप गति दिने अपेक्षा गरिएको छ।

