31.6 C
Birgunj
Date
मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026
spot_img

बर्खाले बिग्रिएको सडकमा मालबाहक ट्रकहरू फस्दै, आवागमन प्रभावित

विराटनगर,०८ असार । मोरङको कटहरीस्थित हुलाकी राजमार्गअन्तर्गत हाटखोला खण्डमा सोमबार एकै स्थानमा तीनवटा मालबाहक ट्रक फसेपछि सवारी आवागमन प्रभावित भएको छ। बर्खायामसँगै बिग्रिएको सडकमा अत्यधिक भार बोकेका सवारी साधन फस्ने क्रम बढ्दै गएको छ।

कच्ची र खाल्डाखुल्डीले भरिएको उक्त सडकखण्डमा तीनवटा लोडेड ट्रक एकैसाथ फसेपछि केही समयका लागि यातायात आवागमन अवरुद्ध बनेको ट्राफिक प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले मालबाहक सवारी साधनलाई उक्त मार्गमा प्रवेश गर्न रोकेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार वर्षा र कमजोर सडक अवस्थाका कारण ट्रकहरू फसेका हुन्। उनले फसेका सवारी साधन निकाल्ने प्रयास जारी रहेको बताए।

‘बर्खाको समय र कच्ची बाटो भएकाले धेरै लोड बोकेका गाडीहरू फसिरहेका छन्,’ उनले भने, ‘हामीले मेसिन पठाएर सडक खुलाउने तयारी गरिसकेका छौँ।’ राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने हुलाकी राजमार्गको मोरङ खण्ड करिब ४४ किलोमिटर लामो छ। तर त्यसअन्तर्गत विराटनगरको हाटखोलादेखि कटहरीको रामचोकसम्म करिब ६ किलोमिटर सडक लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहेको छ।

२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालि काठमाडौंसँग सडक निर्माणका लागि ठेक्का सम्झौता भए पनि काम समयमै पूरा नभएपछि ठेक्का रद्द गरिएको थियो। त्यसयता उक्त खण्ड अलपत्र अवस्थामा रहँदै आएको छ। योजना कार्यालयका प्रमुख पोखरेलका अनुसार अब उक्त खण्डको निर्माणका लागि नयाँ ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आवश्यक सहमति प्राप्त भइसकेको र लागत इस्टिमेट स्वीकृत भएपछि यसै साताभित्र नयाँ ठेक्काको सूचना प्रकाशित गरिने उनले जानकारी दिए।

उनका अनुसार सर्वोच्च अदालतमा ठेक्का रद्दविरुद्ध दायर मुद्दा समेत खारेज भइसकेकाले अब नयाँ ठेक्का प्रक्रियामा कुनै कानुनी अवरोध छैन। सरकारले पूर्व–पश्चिम हुलाकी राजमार्ग निर्माणका लागि करिब २९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। तर कटहरी खण्डको ढिलाइले स्थानीय बासिन्दा र यातायात क्षेत्र दुवै प्रभावित हुँदै आएका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here