चितवन,०८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन अन्तर्गत आजका लागि तय गरिएको बन्दसत्र प्रतिनिधिहरूको नामावलीसम्बन्धी त्रुटि सच्याउने काम नसकिँदा निर्धारित समयमा सुरु हुन सकेको छैन। बिहान साढे ८ बजेबाट बन्दसत्र सुरु गर्ने कार्यतालिका भए पनि प्रतिनिधिहरूको अन्तिम टुंगो नलाग्दा कार्यक्रम प्रभावित बनेको हो।
महाधिवेशनस्थलमा बिहानैदेखि प्रतिनिधिहरूको चहलपहल बढे पनि नामावली व्यवस्थापन र प्रतिनिधि प्रमाणीकरणको प्रक्रिया पूरा नभएकाले बन्दसत्र प्रारम्भ गर्न कठिनाइ उत्पन्न भएको आयोजक पक्षले जनाएको छ।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटिहरू सच्याउने र अन्तिम सूची तयार पार्ने कार्य जारी छ। उनले प्रतिनिधिहरूको अन्तिम टुंगो लागेपछि मात्र बन्दसत्र सुरु हुने जानकारी दिएका छन्। उनका अनुसार प्रतिनिधिहरूको विवरण प्रमाणीकरणको प्रक्रिया अझै जारी रहेकाले केही समय लाग्न सक्छ।
महाधिवेशनमा सहभागी हुने कतिपय प्रतिनिधिहरूको नाम, थर तथा ठेगानासम्बन्धी विवरण नमिलेका कारण परिचयपत्र (कार्ड) तयार गर्न समस्या परेको छ। विशेषगरी मधेससहित केही प्रदेशका प्रतिनिधिहरूको वैधानिकतामाथि समेत विवाद देखिएको बताइएको छ। यही कारण प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्न ढिलाइ भएको हो।
पार्टीका नेताहरूका अनुसार जारी प्रक्रिया सकिन अझै केही समय लाग्न सक्ने भएकाले बन्दसत्र अपराह्न अबेर मात्र सुरु हुने सम्भावना रहेको छ।
निर्वाचन समितिले आइतबार करिब ४ हजार प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो। तर त्यस सूचीमा विभिन्न प्रकारका त्रुटि र दाबी–विवाद देखिएपछि पुनः सच्याउने काम भइरहेको हो।
हाल बन्दसत्र आयोजना हुने स्थल आसपास रास्वपाका प्रतिनिधिहरू तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको छ। महाधिवेशनको मुख्य आकर्षण मानिएको बन्दसत्रमा पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण दस्तावेजमाथि छलफल हुने कार्यक्रम छ।
बन्दसत्रमा केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिने कार्यसूची रहेको छ। ती दस्तावेजमाथि प्रतिनिधिहरूले छलफल गरी आवश्यक सुझाव तथा निर्णय लिने अपेक्षा गरिएको छ।
प्रतिनिधि व्यवस्थापनसम्बन्धी समस्या समाधान भएपछि मात्रै बन्दसत्र औपचारिक रूपमा सुरु हुने भएकाले महाधिवेशनको आगामी कार्यतालिका पनि त्यसैअनुसार प्रभावित हुन सक्ने देखिएको छ।

