30.1 C
Birgunj
Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026
spot_img

नारायणी अस्पतालको कर्मचारी भर्ना प्रक्रियामाथि प्रश्न, निर्देशनविपरीत नियुक्ति

वीरगंज,२२ जेष्ठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ कर्मचारी नियुक्ति नगर्न निर्देशन जारी गरेको अवस्थामा पनि नारायणी अस्पतालले दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरेको तथ्य सार्वजनिक भएको छ। अस्पतालको अभिलेखअनुसार २०८३ वैशाख १५ गते विभिन्न पदमा नौ जना कर्मचारी नियुक्त गरिएको देखिएको हो।

अस्पताल प्रशासन शाखाको विवरणअनुसार स्टाफ नर्स पाँचौँ तहमा अर्चना शर्मा, रिन्कु चौरसिया, नेहा सर्राफ र पुष्पाकुमारी साह नियुक्त भएका छन्। त्यस्तै, एनेस्थेसिया सहायक पदमा उमेशकुमार कुशवाहा, अजय साह र अर्जुन बैठा, अपरेसन सहायकमा अनिलकुमार पटेल तथा कार्यालय सहयोगीमा अनिताकुमारी तेलीलाई दैनिक ज्यालादारीमा नियुक्त गरिएको छ।

सरकारले हाल कुनै पनि प्रकारको नयाँ नियुक्ति प्रक्रिया अघि नबढाउन निर्देशन दिएको भए पनि अस्पतालले कर्मचारी भर्ना गरेको विषयलाई लिएर अस्पतालभित्रै चासो र प्रश्न उठ्न थालेका छन्।

अस्पतालका केही कर्मचारीहरूले निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले आवश्यकताभन्दा बढी आफ्ना निकट व्यक्तिहरूलाई दैनिक ज्यालादारीमा नियुक्त गरेको आरोप लगाएका छन्। प्रशासन शाखासँग सम्बन्धित एक कर्मचारीका अनुसार अपरेसन सहायकमा नियुक्त भएका अनिलकुमार पटेल डा. साहसँग आबद्ध निजी स्वास्थ्य संस्था ‘सर्वोत्तम अस्पताल’मा समेत कार्यरत रहेका व्यक्ति हुन्।

स्रोतका अनुसार पटेल नारायणी अस्पतालमा नियमित रूपमा उपस्थित नहुने र हरेक शुक्रबार मात्र अस्पतालमा देखिने गरेका छन्। बाँकी समयमा उनी मेडिकल सुपरिटेन्डेन्टसँग सम्बन्धित निजी अस्पतालमा सहायकको रूपमा कार्यरत रहेको आरोप छ।

यता निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले नियुक्त गरिएका कर्मचारीहरूको पारिश्रमिक ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत प्राप्त बजेटबाट व्यवस्थापन गरिने बताएका छन्। उनका अनुसार ती कर्मचारीहरूको तलब अस्पताल विकास समितिको स्रोतबाट नभई कार्यक्रमगत बजेटमार्फत उपलब्ध गराइनेछ।

तर सरकारी निर्देशन जारी रहेकै अवस्थामा गरिएको नियुक्ति, कर्मचारी छनोटको प्रक्रिया तथा कार्यक्रमगत बजेटको प्रयोगबारे विभिन्न प्रश्न उठ्न थालेका छन्। यस विषयमा सम्बन्धित निकायबाट निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत बढ्दै गएको छ। कालिका टाईम्स

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here