सप्तरी,(राजविराज)१५ जेष्ठ । गणतन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति सप्तरीको आयोजनामा शुक्रबार राजविराजमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी निकायका कर्मचारी, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
कार्यक्रमका सहभागीहरूले “गणतन्त्र दिवसको सबै देशवासीमा हार्दिक शुभकामना” व्यक्त गर्दै लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका ऐतिहासिक संघर्ष र त्यसबाट प्राप्त उपलब्धिको संरक्षण तथा संस्थागत विकासमा सबैको साझा जिम्मेवारी रहेको बताएका थिए। गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रको उल्लेख्य उपस्थिति देखिए पनि शैक्षिक संस्थाहरूको सहभागिता भने अपेक्षाकृत न्यून देखिएको भन्दै स्थानीय तहमा चर्चा सुरु भएको छ। राजविराज नगरभित्र सरकारी तथा निजी गरी थुप्रै विद्यालय सञ्चालनमा रहेकामा ब्यानरसहित केवल शिव इन्टरनेसनल बोर्डिङ स्कूलको मात्र सहभागिता देखिनुले धेरैको ध्यान तानेको हो।
स्थानीयवासी तथा सरोकारवालाहरूले राष्ट्रिय महत्त्वका कार्यक्रमहरूमा विद्यालयहरूको सक्रिय सहभागिता आवश्यक हुने धारणा व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस्ता दिवसले विद्यार्थीहरूमा राष्ट्रियता, लोकतान्त्रिक मूल्य–मान्यता तथा नागरिक दायित्वबारे चेतना अभिवृद्धि गर्ने भएकाले शैक्षिक संस्थाहरूको भूमिका महत्वपूर्ण हुन्छ। कार्यक्रममा विद्यालयहरूको उपस्थिति किन न्यून रह्यो भन्ने विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्।
कतिपयले कार्यक्रमबारे पर्याप्त समन्वय नभएको हुन सक्ने बताएका छन् भने केहीले विद्यालय प्रशासनको उदासीनतामाथि प्रश्न उठाएका छन्। यस घटनापछि सामाजिक सञ्जालमा समेत बहस सुरु भएको छ। धेरैले राष्ट्रिय दिवसहरूलाई औपचारिकतामा सीमित नराखी विद्यार्थी र युवा पुस्ताको सक्रिय सहभागितासहित प्रभावकारी रूपमा मनाउनुपर्ने सुझाव दिएका छन्

