35 C
Birgunj
Date
बिहि, जेष्ठ ७, २०८३
Thu, May 21, 2026
spot_img

दस महिनामा ५ लाख ७३ हजार पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ,०७ जेष्ठ ।  चालु आर्थिक वर्ष २०८२–८३ को पछिल्ला दस महिनामा मुस्ताङमा ५ लाख ७३ हजार ९७७ जना आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि वैशाखसम्म उक्त संख्यामा पर्यटक मुस्ताङ प्रवेश गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार सो अवधिमा ४ लाख २० हजार ८६ जना आन्तरिक र १ लाख ५३ हजार ८९१ जना बाह्य पर्यटक मुस्ताङ आएका छन् ।

आन्तरिक पर्यटकमध्ये २ लाख १९ हजार ८१७ पुरुष र २ लाख २६९ महिला रहेका छन् । त्यस्तै बाह्य पर्यटकतर्फ ९० हजार ९५७ पुरुष र बाँकी महिला पर्यटक मुस्ताङ प्रवेश गरेको तथ्यांकमा उल्लेख छ । 

म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका–४ घाँसास्थित प्रहरी चेकपोस्टमार्फत संकलित तथ्यांकअनुसार पर्यटक आगमन साउन महिनामा सबैभन्दा कम १९ हजार ७९१ रहेको थियो भने वैशाख महिनामा सबैभन्दा बढी १ लाख ५ हजार ५०३ पर्यटक भित्रिएका छन् ।

त्यसैगरी चालु आवको दस महिनामा कोरला सडकको म्याग्दी हुँदै १ लाख ३१ हजार ६७२ वटा विभिन्न प्रकारका सवारीसाधन मुस्ताङ प्रवेश गरेका छन् । वसन्त ऋतु सुरु भएसँगै चैत र वैशाख महिनामा पर्यटक आगमन उच्च भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

हिउँदयाम अघिको असोजमा ७५ हजार ५९९ र कात्तिकमा ८३ हजार ७६६ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए । अनुकूल मौसम र धार्मिक यात्रा सिजनका कारण यी महिनाहरूमा पर्यटकको चहलपहल उल्लेख्य रहने गरेको छ ।

प्रहरीका अनुसार मुस्ताङ आउने बाह्य पर्यटकमध्ये करिब ८० प्रतिशतभन्दा बढी भारतीय नागरिक हुने गरेका छन् । विशेषगरी मुक्तिनाथ मन्दिरको दर्शन गर्न भारतीय तथा नेपाली पर्यटकको ठूलो संख्यामा आगमन हुने गरेको छ ।

गत आर्थिक वर्षमा मुस्ताङमा कुल ७ लाख ५ हजार ७७९ पर्यटकले भ्रमण गरेका थिए । त्यसमध्ये ५ लाख ५५ हजार ३२६ आन्तरिक र १ लाख ५० हजार ४५३ बाह्य पर्यटक रहेको प्रहरी तथ्यांकमा उल्लेख छ ।

चालु वर्षको भदौमा जेन–जी आन्दोलन तथा अमेरिका–इजरायल र इरानबीचको मध्यपूर्वीय तनावका कारण पर्यटन आगमनमा आंशिक असर परेको भए पनि समग्रमा मुस्ताङको पर्यटन प्रवृत्ति बढ्दो क्रममा रहेको प्रहरी निरीक्षक बस्यालको भनाइ छ ।

धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मुक्तिनाथ मन्दिर, कागबेनीधाममा श्राद्ध–तर्पण, कोरला नाका तथा लोमान्थाङ अवलोकन लगायतका गतिविधिका कारण मुस्ताङ पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ । यहाँको अनुपम हिमाली सौन्दर्य, मौलिक संस्कृति र जैविक विविधताले पर्यटक आकर्षण थप बढाएको सरोकारवालाहरूको भनाइ छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here