वीरगंज,०७ जेष्ठ । मेडिकल व्यवसायी तथा ‘नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईँ को रिहाइको माग गर्दै बिहीबार पुनः वीरगंजमा प्रदर्शन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि भेला भएका प्रसाईँका समर्थकहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेर घण्टाघरसम्म प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले प्रहरी कार्यालयबाट सुरु गरेको र्याली वीरगंजको मुख्य बजार क्षेत्र हुँदै घण्टाघरसम्म पुगेपछि पुनः जिल्ला प्रहरी कार्यालय अगाडि फर्किएर प्रदर्शन समापन गरेका थिए ।
प्रदर्शनका क्रममा सहभागीहरूले “आवाजविहीन नेपाली जनताको आवाज दुर्गा प्रसाईँलाई बिना शर्त रिहा गर” लगायतका नारा लगाएका थिए । टाउकोमा कालो पट्टी बाँधेर सडकमा उत्रिएका सयौं समर्थकहरूले “राज्य आतंक बन्द गर”, “प्रहरी दमन बन्द गर”, “दुर्गा प्रसाईँलाई रिहा गर” जस्ता चर्का नारासमेत लगाएका थिए ।
प्रदर्शनकारीहरूले सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा प्रसाईँलाई पक्राउ गरेको आरोप लगाउँदै तत्काल बिना शर्त रिहा गर्न माग गरेका छन् । उनीहरूले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि हस्तक्षेप गरिएको दाबी गर्दै सरकारको कदमको विरोध गरेका थिए ।
प्रसाईँलाई गत सोमबार वीरगंजस्थित सिद्धार्थ दियालो होटलबाट प्रहरीले राति नियन्त्रणमा लिएको थियो । पक्राउपछि पर्सा प्रहरीले जिल्ला अदालत पर्साबाट विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरअन्तर्गत तीन दिनको म्याद अनुमति लिएको थियो । उक्त म्याद बिहीबार सकिन लागेको बताइएको छ ।
प्रहरीले प्रसाईँमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ भने समर्थकहरूले पक्राउको विरोधमा निरन्तर प्रदर्शन जारी राखेका छन् ।
पक्राउ परेका दिनदेखि नै उनका समर्थकहरूले वीरगंजका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । पछिल्ला दिनहरूमा प्रदर्शनमा सहभागीको संख्या बढ्दै गएको देखिएको छ । प्रदर्शनका कारण केही समय वीरगंजको मुख्य बजार क्षेत्रमा आवागमनसमेत प्रभावित बनेको थियो ।

