वीरगंज,०६ जेष्ठ । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरि पन्त ले वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पस मा देखिएको विवाद समाधानका लागि सरकारसँग छानबिन समिति गठन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद पन्तले २०३८ सालमा स्थापना भएको हरिखेतान सामुदायिक क्याम्पस अहिले झडप र विवादको केन्द्र बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले क्याम्पसमा करिब चार हजार विद्यार्थी तथा १५० प्राध्यापक र कर्मचारी कार्यरत रहेको उल्लेख गर्दै दैनिकजसो हुने नाराजुलुस र झडपका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको बताए ।
उनका अनुसार गुठी संस्थान को जग्गामा निर्माण गरिएको क्याम्पसमा आर्थिक सहयोग गरेका केही दाता परिवारसँग सम्बन्धित व्यक्तिहरूले पटक–पटक मूल विधान संशोधन गर्दै आएको आरोप लगाए । यसले सामुदायिक क्याम्पस निजीकरणतर्फ उन्मुख भएको सन्देश गएको उनको भनाइ थियो ।
सांसद पन्तले हालै भएको एक झडपमा क्याम्पस प्रमुखमाथि दुर्व्यवहार भएको तथा केही कर्मचारी अझै प्रहरी हिरासतमा रहेको जानकारी दिए । साथै केही कर्मचारीलाई सेवाबाट हटाइएको अवस्थासमेत रहेको उनले बताए ।
उनले सभामुखमार्फत नेपाल सरकार तथा सम्बन्धित नियामक निकायलाई यथाशीघ्र छानबिन समिति गठन गरी सामुदायिक क्याम्पसको मर्मअनुसार विधान लागू गर्न तथा पठनपाठनको वातावरण सहज बनाउन आग्रह गरेका छन् ।

