38.4 C
Birgunj
Date
मङ्ल, जेष्ठ ५, २०८३
Tue, May 19, 2026
spot_img

बालेन शाहको चीज पोस्टपछि डीडीसी उत्पादन फेरि चर्चामा

काठमाडौँ,०४ जेष्ठ । यतिबेला सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको विषय हो—चीज । नेपाली खान्कीमा सामान्यतः कम प्रयोग हुने भए पनि उत्पादन भने देशभित्रै भइरहेका चीजले यसपटक व्यापक ध्यान तानेको छ । चर्चा थप चुलिनुको कारण बनेका हुन् प्रधानमन्त्री बालेन्द्र शाह, जसले आफ्नो फेसबुक पेजमा चीज खाइरहेको फोटो सार्वजनिक गरेका थिए । 

उक्त चीज सरकारी स्वामित्वको दूध विकास संस्थान (डीडीसी) को भएको खुलेसँगै पोस्ट सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भयो । लगत्तै प्रयोगकर्ताहरूले रमाइलो प्रतिक्रिया जनाउँदै ‘बालेनको पोस्टपछि बजारमै चीज सकियो’ सम्मका टिप्पणी गरेका थिए । देशको कार्यकारी प्रमुखले कुनै उत्पादनको प्रचारजस्तै शैलीमा पोस्ट सार्वजनिक गरेको घटना असाधारण भएको भन्दै यसले डीडीसीका उत्पादनप्रति उपभोक्ताको चासो बढाएको देखिएको छ । सामाजिक सञ्जालको चर्चासँगै डीडीसीका दूधजन्य उत्पादनहरूबारे पुनः चासो बढेको छ ।

डीडीसीले दूध, दही, घिउ, चीज, पनिर, लस्सी, मोही, आइसक्रिम, केसर मिल्कलगायत विभिन्न दुग्धजन्य उत्पादन बजारमा ल्याउँदै आएको छ । संस्थाले हजारौँ दुग्ध किसानबाट दूध संकलन गरी प्रशोधन गरेर बजारमा वितरण गर्दै आएको छ । डीडीसीको दूध उत्पादनमा चार प्रकारका प्याकेट उपलब्ध छन्—निलो, हरियो, पहेँलो ‘काउ मिल्क’ तथा १.५ प्रतिशत फ्याट भएको ‘डबल टोन’ अर्थात् टी मिल्क । यीमध्ये प्रोसेस्ड मिल्क नै संस्थाको सबैभन्दा ठूलो बजार हिस्सा ओगट्ने उत्पादन हो ।

डीडीसीका बजार विभाग प्रमुख सञ्जिव झाका अनुसार संस्थाले गुणस्तर नियन्त्रणमा कडाइ गर्दै आएको छ । दूध संकलनदेखि उत्पादन र वितरणसम्म प्रत्येक चरणमा परीक्षण गरिने उनले बताए । किसानबाट संकलित दूध चिस्यान केन्द्रमै परीक्षण गरिन्छ भने फ्याक्ट्री र अन्तिम उत्पादनपछि समेत ल्याब परीक्षण हुने व्यवस्था रहेको छ । झाका अनुसार डीडीसीको आफ्नै केन्द्रीय प्रयोगशाला रहेकाले बजारमा पुगेका उत्पादनहरूको नियमित नमुना परीक्षणसमेत गरिन्छ । गुणस्तरमा समस्या देखिए कानुनी कारबाहीसम्मको व्यवस्था रहेको उनले बताए ।

डीडीसीले दैनिक ठूलो परिमाणमा दूध वितरण गर्दै आएको छ । काठमाडौँ उपत्यकामा मात्र दैनिक करिब ६५ हजारदेखि ७० हजार लिटरसम्म दूध वितरण हुने गरेको बताइन्छ । बिहानै बजारमा उपलब्ध हुने डीडीसीको दूध प्रायः छिट्टै बिक्री हुने भएकाले उपभोक्ताको भरोसा अझ बलियो देखिन्छ । संस्थाले अपनाउँदै आएको ‘नो रिटर्न पोलिसी’का कारण बजारमा पठाइएको दूध वा अन्य उत्पादन पुनः फिर्ता लिएर पुनः बिक्रीमा नल्याइने व्यवस्था रहेको छ, जसले उत्पादनको ताजगी र गुणस्तर सुनिश्चित गर्न मद्दत गरेको डीडीसीले जनाएको छ ।

तर, कर, भ्याट तथा खुला बजारसँगको प्रतिस्पर्धाका कारण मूल्यमा देखिने फरक र व्यापारिक चुनौती पनि रहेको बताइएको छ । त्यस्तै, दूधलाई चार डिग्री सेल्सियस तापक्रममा ‘कोल्ड चेन’मा राख्दा ७२ घण्टासम्म सुरक्षित रहने भएकाले उचित भण्डारण प्रणाली अत्यावश्यक रहेको विशेषज्ञहरूको भनाइ छ ।

गुणस्तर नियन्त्रण, सरकारी निगरानी र लामो समयदेखिको उपभोक्ता विश्वासका कारण डीडीसी नेपाली दुग्ध बजारको प्रमुख र भरोसायोग्य ब्रान्डका रूपमा स्थापित रहँदै आएको छ । प्रधानमन्त्रीको पोस्टपछि यो उत्पादन फेरि एकपटक चर्चाको केन्द्रमा पुगेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here