38.4 C
Birgunj
Date
मङ्ल, जेष्ठ ५, २०८३
Tue, May 19, 2026
spot_img

वीरगंजबाट दुर्गा प्रसाईं पक्राउ, समर्थकद्वारा नाराबाजी

वीरगंज,०४ जेष्ठ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं लाई प्रहरीले सोमबार राति वीरगंजबाट नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीले उनलाई रात्री बास बसेको सिद्धार्थ दियालो होटलबाट नियन्त्रणमा लिएको हो ।  

प्रसाईं सोमबार दिउँसो वीरगंज आइपुगेका थिए । उनी वीरगंज आउने क्रममा सिमरा विमानस्थलमा समर्थकहरूले भव्य स्वागत गरेका थिए । विमानस्थल परिसरमा समर्थकहरूले फूलमाला अर्पण गर्दै नाराबाजी तथा स्वागत कार्यक्रममार्फत प्रसाईंप्रति समर्थन जनाएका थिए ।

वीरगंज प्रवेशसँगै उनका समर्थकहरूको विभिन्न स्थानमा उल्लेख्य चहलपहल देखिएको थियो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायले वीरगंजका मुख्य क्षेत्रहरूमा निगरानीसमेत बढाएको थियो ।

प्रसाईंले सोमबार राति आफू बसेको होटलमै वीरगंजवासीसँग भेटघाट तथा छलफल कार्यक्रम राखेका थिए । सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सा लगेको जनाइएको छ । प्रहरीले पक्राउ पुर्जी देखाए पनि उनलाई कुन कारणले नियन्त्रणमा लिइएको हो भन्ने विषय खुलाइएको छैन ।

यस विषयमा थप जानकारी लिन पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतसँग फोन सम्पर्क गर्ने प्रयास गरिएको भए पनि सम्पर्क हुन सकेन ।

प्रसाईंको मंगलबार बिहान १२:३० बजे वीरगंजको प्रसिद्ध धार्मिक स्थल गहवामाई मन्दिर मा पूजा–पाठ गर्ने कार्यक्रम तय गरिएको थियो । उनी बसेको होटलबाट समर्थकहरूसँग पैदल यात्रा गर्दै मन्दिर दर्शनका लागि जाने तयारी गरिएको बताइएको थियो ।

पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक मुद्दामा सक्रिय रहँदै आएका प्रसाईंको वीरगंज भ्रमणलाई उनका समर्थकहरूले विशेष महत्वका साथ हेरेका थिए । तर, राति नै प्रहरीले नियन्त्रणमा लिएपछि उनका समर्थकहरूले आक्रोश व्यक्त गर्दै केही समय प्रधानमन्त्री बालेन्द्र साहविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

प्रसाईं पक्राउ परेपछि वीरगंजको सुरक्षा अवस्था थप सतर्क बनाइएको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here