38.6 C
Birgunj
Date
सोम, जेष्ठ ४, २०८३
Mon, May 18, 2026
spot_img

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया : मनोज शर्माविरुद्ध ७ उजुरी

काठमाडौं,०३ जेष्ठ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा विरुद्ध संसदीय सुनुवाइ समितिमा हालसम्म सात वटा उजुरी दर्ता भएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरी ले शनिबार साँझसम्म समितिमा सात उजुरी प्राप्त भएको जानकारी दिएका हुन् । 

संसदीय सुनुवाइ समितिले वैशाख २६ गते सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो । समितिले डा. शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न अनुपयुक्त ठान्ने व्यक्ति वा पक्षलाई स्पष्ट आधार, प्रमाण तथा सबुतसहित उजुरी पेश गर्न १० दिनको समय दिएको थियो । समितिले उजुरीकर्ताले आफ्नो नाम, थर, स्थायी ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था पनि गरेको छ । समितिअनुसार उजुरी दिने समयसीमा सोमबार कार्यालय समयसम्म कायम रहनेछ ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद् को सिफारिसमा प्रस्तावित व्यक्तिको योग्यता, आचरण, क्षमता तथा कार्यसम्पादनबारे संसदीय सुनुवाइ समिति ले परीक्षण गरेपछि मात्रै नियुक्ति प्रक्रिया अगाडि बढाइन्छ । समितिमा प्राप्त उजुरीहरूमाथि प्रारम्भिक अध्ययन र छानबिन गरिने जनाइएको छ । त्यसपछि उजुरीका विषयमा आवश्यक छलफल गर्दै प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मासँग प्रत्यक्ष सुनुवाइ गरिनेछ ।

संसदीय सुनुवाइ प्रक्रिया नेपालको संवैधानिक निकाय तथा उच्च पदाधिकारी नियुक्तिमा पारदर्शिता, जवाफदेहिता र योग्यता परीक्षणको महत्वपूर्ण संवैधानिक अभ्यासका रूपमा हेरिन्छ । प्रधानन्यायाधीशजस्तो संवेदनशील र महत्वपूर्ण पदमा नियुक्त हुनुअघि सार्वजनिक रूपमा उजुरी आह्वान गरिनु र सुनुवाइ प्रक्रिया सञ्चालन हुनु न्यायिक प्रणालीप्रतिको जनविश्वास सुदृढ गर्ने प्रयासका रूपमा पनि लिइएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here