38.6 C
Birgunj
Date
सोम, जेष्ठ ४, २०८३
Mon, May 18, 2026
spot_img

‘फ्री भिसा, फ्री टिकट’मा ३ लाख माग्ने म्यानपावरका कर्मचारी रङ्गेहात समातिए

काठमाडौं,०३ जेष्ठ । वैदेशिक रोजगारीका नाममा चर्को रकम असुल्न खोज्ने एक म्यानपावर कम्पनीका कर्मचारीलाई प्रहरीले काठमाडौंको तीनकुनेबाट रङ्गेहात पक्राउ गरेको छ । मलेसिया जान लागेका सप्तरी निवासी एक युवासँग सरकारी नियमविपरीत ३ लाख रुपैयाँ असुल्न खोजिएको घटनापछि श्रममन्त्रीको सचिवालय र प्रहरीको संयुक्त कारबाहीमा ती कर्मचारी पक्राउ परेका हुन् ।  

प्रहरीका अनुसार सप्तरीका अजयकुमार यादव सँग अवैध रूपमा रकम माग गरेको आरोपमा ‘ग्रान्ड स्वीट जब’ म्यानपावरका कर्मचारीलाई नियन्त्रणमा लिइएको हो । पक्राउपछि पीडित अजयकुमारको राहदानी, श्रम स्वीकृति, हवाई टिकटलगायत सम्पूर्ण कागजात फिर्ता गराइएको छ । यससँगै उनी आइतबार मलेसिया जान पाउने भएका छन् । अजयकुमार मलेसियामा सुरक्षा गार्डको रूपमा रोजगारीका लागि वैशाख २९ गते नै उड्ने तयारीमा थिए । सरकारले लागू गरेको ‘फ्री भिसा, फ्री टिकट’ नीतिअनुसार सेवा शुल्कबापत अधिकतम १० हजार रुपैयाँ मात्रै लिन पाइने व्यवस्था भए पनि कोटेश्वरस्थित उक्त म्यानपावर कम्पनीले उनीसँग ३ लाख १० हजार रुपैयाँ माग गरेको थियो । पछि १० हजार छुट दिने भन्दै ३ लाख रुपैयाँमा सहमति गराइएको बताइएको छ ।

पीडित अजयले यसअघि नै झापास्थित शाखा कार्यालयमार्फत ७० हजार रुपैयाँ बुझाइसकेका थिए । तर बाँकी २ लाख २० हजार रुपैयाँ तत्काल तिर्न नसकेपछि म्यानपावरले उनको राहदानी, श्रम स्वीकृति र टिकट नियन्त्रणमा राख्दै तय भएको उडानसमेत रोकिदिएको थियो । म्यानपावरले जेठ ३ गतेभित्र बाँकी रकम बुझाए मात्र विदेश पठाइदिने सर्त राखेपछि अजयले ऋण खोजेर पैसा जुटाएका थिए । शनिबार बिहानै उनी रात्रिबस चढेर काठमाडौं आइपुगेका थिए । काठमाडौं आउनुअघि नै उनले आफू ठगीमा परेको गुनासो आफ्नै निर्वाचन क्षेत्रका सांसद तथा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव को सचिवालयमा पुर्‍याएका थिए ।

त्यसपछि मन्त्रीका स्वकीय उपसचिव सरोज यादव पत्रकार तथा तीनकुने प्रहरी वृत्तको टोलीसहित गैरीगाउँ पुगेका थिए । म्यानपावरका कर्मचारीले अजयलाई फोन गरेर पैसा लिएर तीनकुनेस्थित गैरीगाउँ पेट्रोल पम्प अगाडि आउन निर्देशन दिएका थिए । घटनास्थलमा पुगेपछि कर्मचारीले अजयसँग पहिले रकम मागेका थिए भने अजयले आफ्नो कागजात मागेपछि दुवै पक्षबीच भनाभन भएको थियो । सोही क्रममा सादा पोसाकमा खटिएका प्रहरीले ती कर्मचारीलाई नियन्त्रणमा लिएका थिए ।

प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट अजयकुमारसहित अन्य चार जनाका राहदानी, हवाई टिकट र वैदेशिक रोजगारीसँग सम्बन्धित कागजातसमेत बरामद गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार ती कर्मचारीले चारै जनाबाट रकम असुलेर मात्रै कागजात फिर्ता दिने योजना बनाएका थिए । ‘फ्री भिसा, फ्री टिकट’ लागू भएको देशमा किन ३ लाख रुपैयाँ मागिएको भन्ने विषयमा प्रहरीले सोधपुछ गर्दा पक्राउ परेका कर्मचारीले स्पष्ट जवाफ दिन नसकेको र अन्ततः ठगी स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको छ ।

मन्त्रीका स्वकीय सचिव सरोज यादवले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै तीनकुनेस्थित गैरीगाउँमा एक सोझो नेपाली युवा ठगिनबाट जोगिएको बताएका छन् । उनले कारबाहीमा सहयोग गर्ने प्रहरी अधिकारीहरूलाई धन्यवादसमेत दिएका छन् । न्याय पाएपछि खुसी व्यक्त गर्दै अजयकुमारले सुरुमा म्यानपावरले कुनै अतिरिक्त रकम नलाग्ने आश्वासन दिएको तर भिसा आएपछि ३ लाख रुपैयाँ नदिए विदेश जान नपाइने भन्दै दबाब दिएको बताए । उनले गरिब नागरिकलाई ऋण काढ्न बाध्य पारेर वैदेशिक रोजगारीका नाममा लुट मच्चाउनेमाथि कडा कारबाही हुनुपर्ने माग गरे ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयले वैदेशिक रोजगारीका क्रममा कुनै पनि एजेन्ट, म्यानपावर वा संस्थाबाट ठगी, दबाब वा अन्य समस्या आएमा सिधै श्रम मन्त्रालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले यो घटनाले वैदेशिक रोजगारीका नाममा भइरहेका अनियमितता र ठगीको वास्तविक अवस्था उजागर गरेको जनाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here