36.8 C
Birgunj
Date
आइत, जेष्ठ ३, २०८३
Sun, May 17, 2026
spot_img

काठमाडौँमा ट्राफिक कारबाही तीव्र, दैनिक हजारौँ चालक निगरानीमा

काठमाडौं,०२ जेष्ठ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार २०० चालक कारबाहीमा परेका छन्। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २० लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्रभावकारी बनाउन नियमित अनुगमन, चेकजाँच तथा सचेतनामूलक अभियानलाई निरन्तरता दिएको जनाएको छ।

कार्यालयका अनुसार सबैभन्दा बढी कारबाही सवारी नियम पालना नगर्ने चालकहरूमाथि गरिएको हो। मादक पदार्थ सेवन गरेर सवारी चलाउने १६८ जना चालक कारबाहीमा परेका छन् भने नियमविपरीत ‘राइड सेयरिङ’ सञ्चालन गर्ने १५५ जनालाई पनि नियन्त्रणमा लिइएको छ।

त्यसैगरी, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १३७ जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने १५२ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

लेन अनुशासन उल्लङ्घन गर्ने १०२ जना, निषेधित क्षेत्रमा अनावश्यक रूपमा हर्न बजाउने १७८ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १२३ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ११३ जना चालक पनि कारबाहीको दायरामा परेका छन्।

यसबाहेक अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७२ जना चालकलाई समेत कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले सवारी चालकलाई नियम पालना गरी सुरक्षित र जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न आग्रह गर्दै नियम उल्लङ्घन गर्नेहरूमाथि आगामी दिनमा पनि कडा निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here