वीरगंज,०२ जेष्ठ । वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो १० महिनामा करिब दुई खर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ। कार्यालयका अनुसार साउनदेखि वैशाख मसान्तसम्म कुल एक खर्ब ९९ अर्ब ४० करोड रुपैयाँ राजस्व उठाइएको हो। 
भन्सार विभागले उक्त अवधिका लागि वीरगंज भन्सारलाई दुई खर्ब २३ अर्ब १८ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो। हालसम्म कार्यालयले लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत राजस्व मात्रै सङ्कलन गर्न सकेको छ।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको छ। उनले पेट्रोलियम पदार्थ, सवारीसाधन तथा तिनका पार्टपुर्जा आयातलाई मुख्य राजस्व स्रोतका रूपमा उल्लेख गरेका छन्।
भन्सार विभागले चालु आर्थिक वर्षका लागि वीरगंज भन्सारलाई कुल दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरेको छ। अझै दुई महिना बाँकी रहेकाले थप राजस्व सङ्कलन हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार साउन महिनामा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड तथा मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो।
त्यसैगरी, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड, चैतमा २२ अर्ब ८२ करोड र वैशाखमा २१ अर्ब ७४ करोड रुपैयाँ राजस्व उठाइएको सूचना अधिकारी विष्टले जानकारी दिएका छन्।

