बैशाख ,वीरगन्ज
वीरगन्जको मितेरी पुलमा समाचार संकलनका क्रममा रहेका सञ्चारकर्मीमाथि सशस्त्र प्रहरीले दुर्व्यवहार, हातपात र सञ्चार उपकरण कब्जा गरेको घटनाप्रति विरोध सुरु भएको छ। अग्निपथ मिडियाका सञ्चारकर्मी सञ्जय कुशवाहामाथि सशस्त्र प्रहरीका टोलीले सार्वजनिक स्थलमै अभद्र व्यवहार गर्दै प्रेस स्वतन्त्रताको धज्जी उडाएको हो।
सोमबार बेलुका करिब ५:०० बजे मितेरी पुलमा भारतीय अटोरिक्सा चालक र सशस्त्र प्रहरीबीच विवाद तथा झडप भएको थियो। सो क्रममा सिभिल पोशाकमा रहेका सशस्त्र प्रहरीका व्यक्तिहरूले चालकहरूमाथि अन्धाधुन्ध लाठी प्रहार गर्दै भारततर्फ लखेटेका थिए। केही चालकलाई प्रहरीले नियन्त्रणमा लिएर गाडीमा हाल्दै गर्दा उक्त दृश्य क्यामेरामा कैद गर्न खोज्दा पत्रकार कुशवाहामाथि आक्रमण भएको हो।
सुरक्षाकर्मीबाटै दादागिरी
विज्ञप्ति अनुसार वीरगन्ज गुल्म भन्सारका डिएसपी(DSP) विकास अधिकारीका कार्यालय सहयोगी बासु भुजेल र ए प्रेमु नाम गरेका सिभिल स्टाफले पत्रकार कुशवाहामाथि गालीगलौज र हातपात गरेका थिए। उनीहरूले पत्रकारको मोबाइल समेत जबरजस्ती नियन्त्रणमा लिएर समाचार संकलनमा अवरोध पुर्याएका छन्।
अग्निपथ मिडियाको आपत्ति
अग्निपथ मिडियाका सम्पादक बिराज यादवले एक विज्ञप्ति जारी गर्दै यस घटनालाई सम्पूर्ण सञ्चार जगत र लोकतन्त्रमाथिको ठाडो चुनौती भन्नुभएको छ। ूसुरक्षाकर्मीबाट सार्वजनिक स्थलमै पत्रकारमाथि हातपात हुनु र मोबाइल खोसिनु अधिनायकवादी प्रवृत्तिको उदाहरण हो,ू विज्ञप्तिमा भनिएको छ।
दोषीमाथि कारबाहीको माग
मिडियाले दोषी कर्मचारीहरूमाथि तत्काल निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न, खोसिएको मोबाइल फिर्ता गर्न र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग जोडदार माग गरेको छ। घटनालाई ढाकछोप गर्ने प्रयास भए आन्दोलन छेड्ने चेतावनी समेत दिइएको छ।
प्रेस स्वतन्त्रतामाथि भएको यो आक्रमणलाई लिएर वीरगन्जका स्थानीय पत्रकार तथा सञ्चार सम्बद्ध संस्थाहरूले समेत भर्त्सना गरेका छन्।

