39.8 C
Birgunj
Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026
spot_img

हिरासतमा रहेका दीपक भट्टलाई अदालतमा झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ,२१ बैशाख । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सोमबार ललितपुर प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका नाममा यस्तो आदेश जारी गरेको हो। भट्टको रिहाइको माग गर्दै उनकी पत्नी आयुष्मा नेपालले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले लिखित जवाफसहित उनलाई उपस्थित गराउन निर्देशन दिएको हो।

अदालतले पक्राउ गर्नुको स्पष्ट कारण र आधार खुलाएर लिखित जवाफ पेस गर्न तथा हालसम्मको अनुसन्धानसँग सम्बन्धित सक्कल मिसिल फाइलसमेत पेश गर्न आदेश दिएको छ। 

शंकास्पद कारोबारमार्फत अकुत सम्पत्ति आर्जन गरेको आरोपमा भट्टलाई गत चैत १९ गते काठमाडौँको नक्सालबाट पक्राउ गरिएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी उनलाई हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा राखिएको छ।

विभागले भट्टको सम्पत्तिमाथि विस्तृत अनुसन्धान अघि बढाइसकेको छ भने उनको राहदानीसमेत कालोसूचीमा राखिएको छ। सर्वोच्च अदालतको यो आदेशसँगै अब उनको हिरासत बसाइको वैधानिकतामाथि कानुनी परीक्षण हुने भएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here