22.6 C
Birgunj
Date
बिहि, चैत्र १९, २०८२
Thu, April 2, 2026
spot_img

निरन्तर गिरावटमा सेयर बजार, के भन्छन् विश्लेषकहरू?

काठमाडौं,१८ चैत । बालेन्द्र साह नेतृत्वमा नयाँ सरकार बनेसँगै सुरुमा उत्साहित देखिएको सेयर बजार पछिल्ला दिनमा भने लगातार दबाबमा परेको छ । राजनीतिक तनाव, सडक आन्दोलनको आशंका र सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी हल्लाले बजारमा नकारात्मक असर परेको देखिएको छ ।

सरकार गठनपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेसँगै एमालेले सडक आन्दोलन सुरु गरेपछि बजारमा मुठभेडको डर बढेको थियो । त्यसकै प्रभावले आइतबार र सोमबार सेयर बजार उच्च अंकले घटेको थियो भने बुधबार झन् ठूलो गिरावट देखियो । मंगलबार भने बजार सामान्य सुधार भएको थियो ।

यसैबीच, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही व्यवसायीमाथि छानबिन गर्न लागेको भन्ने चर्चाले पनि लगानीकर्तामा थप त्रास फैलिएको छ । सोही क्रममा पूर्वमन्त्री तथा व्यवसायी दीपक खड्का पक्राउ परेका छन् भने अर्का व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखिएको समाचारले पनि बजारलाई तरंगित बनाएको छ ।

बजार विश्लेषकहरूका अनुसार राजनीतिक अस्थिरता र अनुसन्धानसम्बन्धी अनिश्चितताले लगानीकर्ता हतोत्साहित भएका छन् । यद्यपि, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष नरेन्द्र सिजापतिका अनुसार सेयर बजार पूर्ण रूपमा बैंकिङ प्रणालीमार्फत सञ्चालन हुने भएकाले अवैध कारोबारको त्रास अतिरञ्जित भएको हो ।

त्यसैगरी, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले पनि लगानीकर्ताले अनावश्यक डर मान्नुपर्ने अवस्था नरहेको बताउँदै पूँजीबजारमा फैलिएको “सम्पत्ति शुद्धीकरणको हल्ला” गलत भाष्य भएको टिप्पणी गरेका छन् ।

उनका अनुसार बजारमा सबै कारोबार बैंकिङ प्रणालीमार्फत हुने भएकाले अवैध रकम लुकाउने सम्भावना न्यून हुन्छ । साथै, बैंक ब्याजदर न्यून रहनु र लगानीका वैकल्पिक क्षेत्र सीमित हुनुका कारण पूँजीबजार अझै आकर्षक विकल्प भएको उनको भनाइ छ ।

यता, पूँजीबजारलाई व्यवस्थित बनाउन सरकारले विभिन्न नीतिगत सुधार अघि बढाइरहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार कार्यविधि तयार पारेको छ भने मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूची पनि सार्वजनिक गरेको छ ।

ब्रोकर कम्पनीहरूले आगामी वैशाखदेखि मार्जिन लेन्डिङ सुविधा सुरु गर्ने तयारी गरेका छन्, जसले बजारलाई दीर्घकालीन रूपमा सकारात्मक दिशा दिने लगानीकर्ताहरूको अपेक्षा छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here