40.2 C
Birgunj
Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
spot_img

भैरहवामा एलपी ग्यास अभावको गुनासो : आयात नियमित भए पनि उपभोक्ता मारमा

काठमाडौँ,३० फागुन । रूपन्देहीको भैरहवा क्षेत्रका बजारमा एलपी ग्यास अभाव भएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। ग्यास आयातमा कमी नभएको सरकारी दाबी भए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन्।

स्थानीय उपभोक्ताका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ। धेरै ठाउँमा ग्यास विक्रेताले मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेका छन्। कतिपय पसलमा ग्यास लिन उपभोक्ताको लामो लाइन लाग्ने गरेको पनि देखिएको छ।

स्थानीय प्रदीप ज्ञवालीका अनुसार लामो समय पालो कुर्दा पनि खाना पकाउने ग्यास पाउन नसक्दा दैनिक जीवन कष्टकर बन्दै गएको छ। “भान्छा चलाउनसमेत ग्यास नपाउने अवस्था आउन थालेको छ,” उनले भने।

ग्यास विक्रेताहरूले भने कम्पनीबाट पर्याप्त ग्यास उपलब्ध नभएकाले अभाव देखिएको बताएका छन्। मागअनुसार आपूर्ति नहुँदा उपभोक्तालाई ग्यास उपलब्ध गराउन कठिन भएको उनीहरूको भनाइ छ।

तर भैरहवा भन्सार कार्यालयका अनुसार ग्यास आयात नियमित रूपमा भइरहेको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले केही दिन निर्वाचनका कारण आयातमा सामान्य समस्या देखिए पनि अहिले अवस्था सामान्य भइसकेको बताए। उनका अनुसार दैनिक रूपमा ग्यास बोकेका बुलेट ट्याङ्कर नाकाबाट नेपाल भित्रिने क्रम जारी रहेको छ।

स्थानीय विक्रेताका अनुसार सम्भावित अभावको आशंकामा उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो। पहिले दैनिक सीमित सङ्ख्यामा बिक्री हुने ग्यास सिलिण्डर अहिले केही घण्टामै सकिने गरेको बताइएको छ।

उता सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ ग्यास सिलिण्डर लैजाने प्रयाससमेत बढेको पाइएको छ। भारतीय बजारमा ग्यासको मूल्य बढी हुनुका साथै अभाव देखिएकाले नेपालबाट ग्यास भारततर्फ तस्करी हुने सम्भावना रहेको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले सीमाबाट ग्यासको अवैध ओसारपसार हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर निगरानी कडा पारिएको जानकारी दिए। उनका अनुसार सीमावर्ती क्षेत्रमा जाँचलाई कडाइ गरिएको छ।

यसैबीच, इलाका प्रहरी कार्यालय बेलहियाले भारततर्फ लैजाँदै गरेको र भारतबाट नेपालतर्फ ल्याइँदै गरेको केही ग्यास सिलिण्डर नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले सीमामा निगरानी बढाइएको र अवैध ओसारपसार रोक्न आवश्यक कदम चालिएको बताएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here