22.6 C
Birgunj
Date
बिहि, चैत्र १९, २०८२
Thu, April 2, 2026
spot_img

सांसद हरि पन्तको प्रधानमन्त्रीलाई ध्यानाकर्षण: सिर्सिया नदी, मल र क्यासिनो समस्या प्रमुख

वीरगंज,१८ चैत । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का सांसद हरि पन्तले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बालेन्द्र शाह समक्ष पर्सा क्षेत्रसँग सम्बन्धित विभिन्न गम्भीर समस्याहरू उठान गरेका छन्।

मधेस प्रदेशका सांसदहरू र प्रधानमन्त्रीबीच आज भएको भेटघाटका क्रममा सांसद पन्तले विशेषगरी सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रणका लागि अधिकार सम्पन्न समिति गठन गरी निश्चित समयसीमा तोकी समस्या समाधान गर्न आग्रह गरेका थिए।

यसैगरी उनले किसानहरूले समयमै आवश्यक मात्रामा मल नपाउने समस्यालाई गम्भीर रूपमा उठाउँदै सरकारले कुनै पनि हालतमा मल आपूर्ति सुनिश्चित गर्नुपर्ने बताए।

सांसद पन्तले वीरगंजका क्यासिनोहरूको विषयमा समेत ध्यानाकर्षण गराउँदै अधिकांश क्यासिनोहरूले नेपाली नागरिकलाई अवैध रूपमा प्रवेश गराई आर्थिक शोषण भइरहेको आरोप लगाए। उनले यस विषयमा प्रहरी प्रशासन मौन बसेको पनि गुनासो गरेका थिए।

त्यसैगरी वीरगंज महानगरपालिका ले विभिन्न स्थानमा ढाट राखेर अवैध रूपमा असुली गरिरहेको विषय पनि उनले उठान गरे। यस विषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबीच जिम्मेवारी पन्छाउने प्रवृत्ति देखिएको गुनासो समेत उनले प्रधानमन्त्रीसमक्ष राखेका थिए।

सबै विषय सुनेपछि प्रधानमन्त्री बालेन्द्र शाह ले तत्काल प्रहरी महानिरीक्षक र गृह सचिवलाई आवश्यक निर्देशन दिने बताएका छन्। साथै उनले जनप्रतिनिधिले उठाएका जायज मागहरू जिल्लाका प्रशासन र सुरक्षा निकायले बेवास्ता गर्न नमिल्ने स्पष्ट पारे।

भेटघाटमा श्रम मन्त्री दिपक साह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह लगायत मधेस प्रदेशका अन्य सांसदहरूको उपस्थिति रहेको थियो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here