वीरगंज,१८ चैत । करिब २ करोड ९३ लाख रुपैयाँ राजस्व हिनामिनाको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पर्साका तत्कालीन मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आर्थिक वर्ष २०७०/७१ मा ठूलो परिमाणमा राजस्व हिनामिना भएको निष्कर्षसहित विशेष अदालत काठमाडौं मा मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरिएका व्यक्तिहरूमा तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदम अर्याल, सुरेन्द्र प्रसाद कुर्मी तथा तत्कालीन नायब सुब्बा स्वर्गीय किरण उपाध्यायका अंशियार छोराहरू राजकिशोर उपाध्याय र गौतम उपाध्याय रहेका छन्।
अनुसन्धानका क्रममा रजिष्ट्रेशन शाखा ‘ग’ बाट एउटै नम्बर प्रयोग गरी दोहोरो तथा तेहेरो रजिष्ट्रेशन नम्बर राखी एकभन्दा बढी लिखत पारित गरिएको पाइएको छ। दर्ता किताबमा एउटै नम्बरका लिखतहरू प्रविष्ट गरिए पनि राजस्व रसिदको तुलना गर्दा कम रकम देखाइएका लिखत मात्र पेश गरिएको र बढी राजस्व लाग्ने लिखतहरू लुकाइएको भेटिएको आयोगले जनाएको छ।
त्यस्तै, केही लिखतबाट प्राप्त राजस्व बैंक दाखिला गरिए पनि उच्च राजस्व भएका लिखतहरू दर्ता किताबमा समावेश नगरी रकम हिनामिना गरिएको अनुसन्धानबाट खुलेको छ। आन्तरिक तथा अन्तिम लेखापरीक्षणसमेत नगरी उक्त अनियमितता गरिएको पाइएको छ।
अनुसन्धान अनुसार उक्त आर्थिक वर्षमा कुल २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ बराबरको राजस्व हिनामिना भएको ठहर गरिएको छ। संलग्न कर्मचारीहरूलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै आयोगले मुद्दा दायर गरेको जनाएको छ। कालिकाटाईम्स

